‘१० वर्षमा मुलुकलाई नमुना बनाइदिन्छु’
Advertisement
You May Like


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जिम्मेवारी पाए दस वर्षभित्रै मुलुकलाई विकासले परिवर्तन गरिदिने बताएका छन् । आफूले १० महिना सरकारको नेतृत्व गर्दा सबैलाई सहमतिमा ल्याएर उल्लेखनीय काम गर्न सकेको औंल्याउँदै उनले व्यापार, पर्यटन, उद्योग र प्रविधिमा नेपाललाई नमुना बनाएर देखाइदिने दाबी गरे ।
‘दस महिनामा मधेस र पहाडलाई जोड्नुका साथै आर्थिक वृद्धिदर र लोडसेडिङमुक्त गर्न सफल भएँ,’ शुक्रबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ वंशामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘मौका पाए १० वर्षमा नेपाललाई नमुना बनाएर देखाइदिन्छु ।’ उनले फास्ट ट्रयाक निर्माण सुरुआतसँगै मुलुकका प्रमुख सहरलाई उज्यालो बनाउने र चीनसँगको ओबोर सम्झौता आफ्नो सरकारका महत्त्वपूर्ण काम भएको बताए ।
मधेसी दललाई सहमतिमा ल्याएर मुलुकलाई चुनावमा लैजानु ठूलो सफलता रहेको उनको भनाइ छ । ‘मधेस र पहाडलाई जोड्ने काम पनि मेरै पालामा भयो,’ उनले भने, ‘अहिले केही साम्राज्यवादी दलालहरू माओवादीको एजेन्डा चोरेर भड्काउन खोजिरहेका छन् ।’ उनले संविधानसभाको चुनावदेखि संविधान निर्माण र कार्यान्वयनसम्मको नेतृत्व माओवादीले नै गरेकाले त्यसको लाभ पनि माओवादीले पाउने बताए ।
‘पहिलो संविधानसभामा केही गल्ती गरेपछि जनताले माओवादीलाई दोस्रो संविधानसभामा साइजमा ल्याएका हुन्,’ उनले भने, ‘अब स्थानीय तहदेखि प्रदेश र केन्द्रको चुनावसम्म पुग्दा माओवादी पहिलो पार्टी हुन्छ ।’ उनले सिंहदरबारको अधिकार अहिले गाउँगाउँमा माओवादीकै कारण आएको बताए । तर, अन्य पार्टीले यसको गलत फाइदा उठाएर माओवादीलाई बदनाम गर्न खोजेको उनको आरोप छ ।
‘द्वन्द्वकालको अन्त्यतिर मेरो टाउकाको मोल तोक्ने यिनै नेता हुन्,’ दाहालले भने, ‘माओवादीलाई भत्काउने र बिगार्ने पार्टीका रूपमा बदनाम गराउने तिनै नेता परिवर्तनमा मुख्य पक्षधर बनेका छन् ।’
दाहालले पार्टीबाट फुटेर गएकालाई मिलाउने अभियान सुरु गरेको बताउँदै सबैलाई एकजुट गरेर लैजान सक्ने नेता आफू नै भएको दाबी गरे । ‘प्रचण्ड छँदासम्म माओवादीमा अर्काे नेता जन्मिँदैन, इतिहासले मात्रै जन्माउने हो,’ उनले भने, ‘सबैलाई मिलाएर लैजान्छु, सबै आउनुस्, अन्त नअल्मलिनुस् ।’ उनले नयाँ शक्तिका अधयक्ष बाबुराम भट्टराई, माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य र नेत्रविक्रम चन्दलाई लक्षित गर्दै सबैका लागि माओवादीमा बाटो खुला रहेको बताए ।

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.