निर्वाचन फेरि सर्ने, असार १४ गते हुने !
Advertisement
You May Like


काठमाडौं, जेठ १६ । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगका पदाधिकारीसँग निर्वाचनका लागि राजनीतिक सहमति खोज्ने प्रयास जारी रहेको र मुस्लिम समुदायको पवित्र पर्व रमजानसमेतलाई ध्यानमा राखी दोस्रो चरणको निर्वाचनको मिति केही दिन पर सार्ने विषयमा केन्द्रित रहेर छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भएको छलफलमा प्रधानमन्त्री दाहाललाई आयोगका पदाधिकारीहरुले सकारात्मक परामर्श दिएको निर्वाचन आयोगद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
यसअघि, मन्त्रिपरिषदले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि घोषणा गरेको असार ९ गते शुक्रबार मुस्लिम समुदायको पवित्र पर्व रमजान परेको हुँदा सो समुदायको मागअनुरुप उनीहरुको भावनालाई सम्बोधन गर्ने र राजनीतिक सहमतिका लागि भइरहेको प्रयासलाईसमेत दृष्टिगत गरी सरकारले निर्वाचनको मिति सार्ने निष्कर्षमा पुगेको बुझिएको छ ।
सरकारले दोस्रो चरणको निर्वाचन असार १४ गते बुधबार गर्ने तयारी गरेको र सोसम्बन्धी निर्णय भोलि बस्ने मन्त्रिपरिषदको बैठकले अनुमोदन गर्ने बुझिएको छ ।
निर्वाचन आयोगले ७४४ ओटै स्थानीय तहको निर्वाचन एकैपटक वैशाख ३१ गते गर्नेगरी तयारीलाई अन्तिम चरणमा पुर्‍याएकाबेला त्यसअघि पनि सरकारले राजनीतिक वातावरण कायम गर्ने जनाउँदै दुई चरण निर्वाचन गर्नेगरी दोस्रो चरणको निर्वाचन यही जेठ ३१ गते गर्ने निर्णय गरेको थियो ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले प्रधानमन्त्री दाहालले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव तथा आयुक्तबीच जेठ ३१ गते तय भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनका सम्बन्धमा परामर्श गरेको जानकारी दिए ।
छलफलमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि उपस्थित थिए ।
आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल, सुधीरकुमार शाह तथा आयोगका सचिव गोपीनाथ मैनाली सहभागी थिए । रासस

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.