समाचार
»
बोक्सोको आरोप लगाइएका बृद्धको विभत्स हत्या
बोक्सोको आरोप लगाइएका बृद्धको विभत्स हत्या
Advertisement
You May Like
विराटनगर : पाँच वर्ष अघि बोक्सोको आरोपमा गाउँलेको दुरव्यवहार र यातना खेपेका मोरङको रंगेली नगरपालिका ९ का एक बृद्धको आइतबार राति विभत्स रुपमा हत्या भएको छ ।
धारिलो हतियार प्रहार गरेर ६१ वर्षीय पहाडचन राजवंशीको हत्या गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक संजीवबाबु खड्काले बताउनु भयो । अनुहार र घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्थामा राजवंशीको शव रंगेली नगरपालिका ९ बनकोल स्थित दोहमाना भन्ने ठाउँमा फेला परेको जानकारी उहाँले दिनु भयो ।
प्रहरीका अनुसार राजवंशीलाई स्थानीय बासिन्दाले २०६९ साल भदौमा बोक्सोको आरोप लगाउँदै मलमुत्र खुवाउने प्रयास गरी यातना दिएका थिए । बोक्सोको आरोप लगाउँदै निरन्तर रुपमा यातना दिएर दुरव्यवहार गर्न थालेपछि राजवंशी ६ महिना जति विस्थापित हुनु भएको थियो । प्रहरीले त्यतिबेला घटनामा संलग्न सात जनालाई पक्राउ गरेर मुद्धा समेत चलाएको थियो । घटनाका अभियुक्तहरु अदालतले मागेको धरौटी बुझाएर छुटेका थिए ।
‘राजवंशीमाथि पहिल्यैदेखि बोक्सो आरोपमा यातना दिने काम भइरहेको थियो । घटनामा संलग्नलाई पक्राउ गरेर प्रहरीले मुद्धा पनि चलाएको थियो,’ एक स्थानीयले भने, ‘तर घटनामा संलग्नहरु केही समयमै अदालतले माग गरेको धरौटी बुझाएर छुटे । घटनामा संलग्न छुटेपछि उहाँले असुरक्षित महसुस गरिरहनु भएको थियो ।’ ती स्थानीयका अनुसार आफूमाथि बोक्सो भनेर मलमुत्र खुवाउन खोजिएको र यातना दिएको घटनामा राजवंशीले न्याय पाएको महसुश भने गर्नु भएको थिएन ।
प्रनि खड्काले पहिल्यैदेखि बोक्सो आरोपमा यातना खेप्दै आएका बृद्धको हत्या भएको घटनालाई प्रहरीले गम्भिर रुपमा लिएको बताउनु भयो । ‘अहिले सम्म घटनाका बारेमा कुनै सुराक मिल्न सकिरहेको छैन । घटनामा संलग्नको पहिचान हुन नसकेकाले पक्राउ पनि गर्न सकिएको छैन,’ उहाँले भन्नु भयो, ‘बृद्धमाथि पहिल्यैदेखि भइरहेको अन्याय लगायतलाई आधार बनाएर प्रहरीले यो घटनाको अनुसन्धान सुरु गरेको छ । रिसिईवीले हो की के कारणले हत्या भएको हो भन्ने बारेमा पनि खुल्न सकेको छैन ।’ पछिल्लो समयमा आएर राजवंशीको कोहीसंग कुनै विवाद थियो की भन्ने बारेमा पनि अनुसन्धान केन्द्रीत गरिएको जानकारी उहाँले दिनु भयो ।

Advertisement
You May Like
0 comments
Write Down Your Responses