पूर्वप्रहरी ह्विलचेयरको सहायताले पत्रिका बेच्नेर जिबिकोपार्जन....
Advertisement
You May Like
जीवनमा यतिधेरै दुःख भोग्नु पर्ला भनेर सायदै सोचेका थिए काभ्रेका क्षेत्रबहादुर भण्डारीले । अहिले भने उनलाई भोग्नुपर्ने दुःख कुनै बाँकी छ जस्तो लाग्दैन ।
दुवै खुट्टा गुमाएका ६१ वर्षीय भण्डारी ह्विलचेयरको सहायताले पत्रिका बेच्ने काम गर्छन् । परिवारबाट अपहेलित भएर सडकपेटीमा बस्दै आएका भण्डारीको लागि पत्रिका जीविकोपार्जनको माध्यम बनेको छ । हातमुख जोर्न उनले कसैसँग हात थाप्नुपरेको छैन । इन्डियन लाहुरेका छोरा भण्डारी पनि प्रहरी हुन् । तर, पेन्सनै नभई उनी पूर्व भए । त्यसपछि चालक र अहिले उनी हकरका रूपमा परिचित छन् ।
काभ्रेमा जन्मे पनि बाल्यकालचाँही भारतमा बित्यो उनको ।
बुबा भारतीय सैनिक भएकाले उनी पनि उतै गए । दुःखको कुरा उनी ११ वर्षको हुँदा वर्षदिनभित्रमै बुबाआमा दुवैको निधन भयो ।
उमेरले सानै भए पनि व्यवहारले उनलाई परिपक्क बनायो । चार दिदिबहिनी र दुई भाई हुर्काउनुपर्ने जिम्मेवारी उनको काँधमा आयो । उनीहरू सबै जना काभ्रेकै भुम्लुमा फर्किए ।
नेपाल प्रहरीमा जागिर खाए उनले । करिब १० वर्ष सेवा गरे । हल्दार भएका थिए उनी । जम्दार हुने पहिलो नम्बरमा थिए । तर, बढुवामा उनीभन्दा कनिष्ठको नाम प¥यो । यसपछि उनलाई छिनभर पनि नेपाल प्रहरीमा रहेर सेवा गर्न मन लागेन । तुरुन्तै राजीनामा लेखेर उनले नेपाल प्रहरीको जागिर त्यागे । ‘काम गर्ने कालु, मकै खानु भालु भने जस्तो भयो,’ उनले पुराना दिन सम्झिए, ‘कनिष्ठको बढुवा भएपछि नैतिक हिसाबले मलाई प्रहरी सेवामा रहिरहन मन नलागेर २०४९ सालमा जागिर छोडिदिए ।’
यसपछि उनी चालक बने । बस, ट्रक, माइक्रो सबै प्रकारका सवारी चलाए उनले । करिब ८ वर्ष चालक भएर बित्यो । पत्नी र दुई जना छोरालाई पनि काठमाडौं ल्याएका थिए उनले यसबेलासम्म । विडम्बना, उनी अचनाक बिरामी परे । उपचारका लागि धुलिखेल अस्पताल पुगेका भण्डारीको दायाँ खुट्टा काट्नुपर्ने भयो । मधुमेहले थलिएपछि खुट्टा काटेसँगै उनको जिन्दगीमा दुःख थपिँदै गयो । तैपनि हार खाएनन् भण्डारीले । कृत्रिम खुट्टा हालेर पनि हिँडडुल गरिरहे ।
राजनीतिमा पनि लागे उनी । २०६४ को चुनावमा माओवादीलाई भोट माग्दै हिँडे । काभ्रे, क्षेत्र नम्बर ४ बाट माओवादीले विजयी हासिल ग¥यो । तर, भण्डारीलाई त्यसले छोएन । ‘केही गरिदेलान की भन्ने आशाले चुनावमा खटे,’ उनले भने, ‘चुनाव जितेपछि मलाई कसैले वास्तै गरेनन् । यसपछि मैले राजनीतिको नामै लिइनँ ।’
भण्डारीका एउटा छोरा डल्लुमा कोठामा बस्थे । उनी पनि छोरासँगै बस्न थाले । दुई–चार महिना बसेपछि छोराबुहारीले कोठाबाट निकाले । टेकुको पिपलको फेदमा खुला आकाशमुनि बस्न थाले उनी । कसैले दयामायाले दिए खान्थे, हात थाप्न भने गएनन् । ‘कति दिन त भोकै बसेँ । तर, हात थापेर माग्नचाँही गइनँ,’ उनले सुनाए ।
भण्डारी बिरामी परे । रुखकै फेदमा लामो समय बित्यो । एक दिन एउटी महिलाले देखिछन् । त्यसबेलासम्म उनी निकै बिरामी परिसकेका थिए । ती महिलाले उनलाई वीर हस्पिटलको गेटमा ल्याएर छोडिन् । उनी बेहोस अवस्थामै पुगिसकेका थिए । वीर हस्पिटलले उनको उपचार गरिदियो, निःशुल्क । उनी ठीक भए । तर, उनीसँग अब खुट्टै रहेन । बाँकी रहेको एउटा खुट्टा पनि काटियो । मधुमेह रोगले गर्दा उनका दुई वटै खुट्टा गुमे ।
खुट्टाविहिन भएपछि अस्पतालको बेडमा निकै छट्पटाए उनी । तर, हार खाएनन् । ह्विलचेयर मार्फत हिँडडुल गरेर पनि केही गर्ने सोचिरहे । धेरैतिर ह्विलचेयर खोज्दा नायक राजेश हमालको भाई राकेश हमालले उनलाई ह्विलचेयर दिने भए । तर, लिन कसरी जाने ? भण्डारीसँग विकल्प भएन । वीरकै डाक्टरसँग ह्विलचेयर ल्याउन सहयोग मागे । ह्विलचेयर पाएको दिन खुट्टा नै पाएसरह भयो उनलाई खुसीले ।
‘ह्विलचेयरमा चढेर गद्गद् हुँदै टेकुको पीपलबोटमा बस्न थाले,’ उनले भने, ‘२६ दिन रुखको फेदमा बसेपछि अम्बे कम्प्लेक्सको पेटीको भ¥याङमा बस्न थालेँ ।’ त्यहाँ बस्दा खाजा खानु भनेर एक जनाले ४० रूपैयाँ दियो उनलाई बाटो हिँड्ने मान्छेले । त्यो पैसाले उनले पत्रिका किने र ह्विलचेयरको सहायताले पत्रिका बेच्न थाले । उनको कामलाई धेरैले प्रशंसा गरे । स्यावासी दिए । उनीसँग पत्रिका किनेर पढ्नेहरू धेरै भए । पहिलो दिन २ सय ५० रूपैयाँ भएछ उनको कमाई । यही दिन वर्षौैपछि उनले पेट लाग्दो खाना खाएको सुनाए । पत्रिका किन्नेले पत्रिकाको दाम भन्दा बढी पैसा दिन्थे उनको काम देखेर । यो करिब ६ वर्षअघिको कुरा हो ।
‘मागेर भन्दा केही काम गरेर खाना चाहान्थेँ,’ उनले भने, ‘त्यही उपायस्वरूप पत्रिका बेच्न थालेको अहिलेसम्म निरन्तर छु ।’
अहिले उनी ह्विलचेयर होइन, टाइ साइकलको सहायताले सहर डुल्छन् । टाइ साइकलमा हालेर दैनिक पत्रिका बेच्छन् । ‘पहिलेको जस्तो पत्रिकै बिक्दैन्,’ उनले सुनाए, ‘पहिले त २/३ सय पत्रिका बेच्थेँ, अहिले त ७०÷८० वटा मात्रै बेच्छु ।’ पाँचबाट १० रूपैयाँ भएपछि पत्रिकाको बिक्री घटेको उनले सुनाए । उनी सुन्धारा, त्रिपुरेश्वर, वीर हस्पिटल आसपास पत्रिका बेच्छन् ।
अहिले पनि उनी टेकुस्थित अम्बे कम्प्लेक्सको पेटीको भ¥याङमुनि बस्छन् । ‘भ¥याङमुनि बस्न दिएर अम्बेले ठूलो गुन लगाएको छ,’ उनले भने ।
भण्डारीको टाइ साइकलमा नेपाल र अमेरिकाको झण्डा राखिएको छ । उनले चलाइरहेको टाइ साइकल अमेरिकाको एउटा संस्थाले सहयोग गरेको रहेछ । त्यसैले उनले अमेरिकाको झण्डा राखेको रहेछ । नेपालको झण्डाचाँही उनले देशको माया लागेर राखेका रहेछन् ।
‘देश, समाज र घर परिवार कसैले माया नगरे पनि मलाई सबैको माया लाग्छ,’ उनले भने, ‘१०/११ वर्ष नेपाल प्रहरीमा सहयोग गरेँ । सरकारले केही सहयोग गर्छ की भन्ने झिनो आशा छ।’
Advertisement
You May Like
0 comments
Write Down Your Responses