एक हप्ताभित्र संशोधन प्रस्ताव पारित नभए संसद छोड्ने राजपाको चेतावनी
Advertisement
You May Like

काठमाडौं, २४ असार । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले एक हप्ताभित्र संविधान संशोधन प्रस्ताव पारित नगरे आफूहरु संसदमा नरहने र सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता यादवले वर्तमान सरकारले एक हप्ताभित्र संविधान संशोधन प्रस्ताव पारित गर्ने वचन दिएकोले आफूहरु अब एक हप्ताभन्दा धेरै कुर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् । उनले भने, ‘एक हप्ताभित्रपनि संशोधन प्रस्ताव पारित भएन भने हामी संसद छोडेर आन्दोलनमा होमिन्छौं, संसद नै छोडेपछि यो सरकारलाई दिएको समर्थन स्वतः फिर्ता हुन्छ ।’
यद्यपी उनले प्रधानमन्त्री शेरबहादुर देउवाले एक हप्ताभित्र संशोधन प्रस्ताव पारित गर्ने र मुद्धा फिर्ता, सहिद घोषणा लगायतका राजनीतिक मागहरुपनि पूरा गर्ने वचन दिएकोले आफूहरु पर्ख र हेरको रणनीतिमा रहेको स्पष्ट पारे । यादवले थपे, ‘हिजो बालुवाटारमा भएको कांग्रेस, नेकपा माओवादी केन्द्र र हामीवीचको छलफलमा उहाँहरुले यस्तो आश्वासन दिनुभएको छ, त्यसैले हामी एक हप्ता पर्खन्छौं, एक हप्ताभित्र पनि भएन भने हामी सदन छोडेर सशक्त आन्दोलनमा जान्छौं, जुन आन्दोलनको कसैलेपनि कल्पना गर्न सक्दैनन् ।’
उनले संविधान संशोधन हुन नसके १२ महिनासम्म यो सत्तारुढ गठबन्धनसँग गरेको वार्ता निरर्थक हुने बताउँदै भने, ‘जब वार्ता तथा सम्वादको कुनै औचित्य हुँदैन, अनि सबै निरर्थक हुन्छ भने हामी सरकारमा किन बसिरहनु? त्यसैले हामी सरकारबाट बाहिरिन्छौं ।’
उनले अहिले संसदमा दर्ता भएको संविधान संशोधन सहमतिको दस्तावेज भएको उल्लेख गर्दै एमालेले संविधान संशोधन के को लागि ? र यो राष्ट्रघाती भन्ने एमालेले पास गर्छ भनेर आफूहरुलाई विश्वास नभएको बताए । उनले भने, ‘पहिलो पटक संशोधन गर्दापनि एमालेले खासै रुचाएको थिएन, तर राष्ट्रिय पूनर्निर्माण प्राधिकरणको लागि उसले बाध्य भएर पास गरेको हो ।’
उनले एमालेभित्र मधेशी र जनजाति नभएको समेत आरोप लगाए । उनले भने, ‘एमालेभित्र मधेशी र जनजाति भएको भए उनीहरुको पक्षमा बोलिहाल्थे नि, खोई बोलेको नि ?’
यादवले हिजो निर्वाचन आयोगमा भएको दल दर्ता निर्वाचन प्रयोजनको लागि नभएको स्पष्ट पारे । उनले भने, ‘दल दर्ता विधि र विधानको लागि हो, निर्वाचनको प्रयोजनको लागि होइन ।’

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.