विदेश पठाइदिने भन्दै खेत बेचाएर ११ लाख ठग्ने छिमेकी फरार......
Advertisement
You May Like
धादिङ: बैदेशिक रोजगारीका लागि दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै धादिङको सिद्धालेक गाउँपालिका वडा नम्बर ५ कुम्पुरका लक्ष्मण प्रसाद पन्तले छिमेकीकै ११ लाख रुपैया ठगेर फरार भएका छन । ठगिनेमा सिद्धालेक गाउपालिका वडा नम्बर ५ कै कुशल आलेमगर रहेका छन । राम्रो कमाइ हुने आसमा भएको १ रोपनी खेत नै बेचेर पन्तलाइ पैसा बुझाएका कुशल आलेको यतिबेला उठिबास लागेको छ । पन्तले सुरुमा टर्किको बिजनेस फार्ममा सेल्स ब्वाइ रुपमा पठाइदिने भन्दै तीन लाख लिएपछि टर्किमा द्धन्द भइरहेकाले टर्किको साटो दक्षिण अफ्रिका पठाइदिने बताएका थिए । कुशलले भन्नुभयो, ‘गाउँकै छिमेकी दाइ थिए, राम्रै चिनजान थियो, अरु मान्छे पनि पठाएको छु, कम्पनीसंग कुरा भइरहेको छ भनेर फेसवुक भएका कुराकानी पनि देखाए । यसरी फसाउलान भन्ने लागेको थिएन । पुरा पैसा दिएपछि पाँच महिना भारत लगेर झुलाएपछि बेपत्ता भए।’ पन्त काठमाण्डौस्थित नैकापमा बस्दै आएपनि यतिबेला सम्पर्कविहीन भएका छन । गाउँमा खेतीपाती गरेर गुजारा चलाउदै आएका आले बाबुको मृत्यु भएपछि घर खर्च जुटाउन र परिवार पाल्नको लागि विदेश जाने मनस्थिति बनाएको बेलामा दलालको (लक्ष्मण पन्त) फन्दामा परेको बताउनु हुन्छ । पटक पटक गरी कागजपत्र बनाउन भनेर नगद ११ लाख लिएपछि दक्षिण अफ्रिका पठाउने भन्दै भारतसम्म लगेर पाँच महिनासम्म राखेपछि दक्षिण अफ्रिका पठाउन नसक्दै भन्दै लक्ष्मणले आफुलाइ नेपाल फिर्ता पठाएको आलेले बताउनुभयो । ‘पटक पटक गरी मसंग ११ लाख पैसा लिएपछि मलाइ भारत लगेर पाँच महिनासम्म राख्यो । सुरुको दुइ महिना घरमा सम्पर्क गर्न समेत दिएन’आलेले भन्नुभयो, ‘पछि आएर मैले दक्षिण अफ्रिका पठाउन सकिन । नेपालमा गएर तिम्रो हिसाव किताव गरिदिउला भनेर पासपोर्ट समेत नदिइ फर्काइदियो । घर नजिकैको छिमेकी हो फिर्ता गरिहाल्ला नी भनेर विश्वासमा पर्दा आफु ठगिएको पत्तै पाइन ।’ आफ्नो नाममा रहेको एक रोपनी खेत पनि बेचेर विदेश गएर राम्रो कमाइ गर्ने सपना देख्नु भएका आलेको उठीबास लागेको छ । भुकम्पले घर भत्काएपछि घर बनाउन आफ्नो नाममा जग्गा समेत नहुँदा आले परिवारले सार्वजनिक जग्गाममा घर टहरा बनाएर बसेका छन । कुशलकी आमा तिकुुकुमारीले भावुक हुँदै भन्नुभयो, ‘छोराले पैसा कमाउला राम्रो गर्ला भनेर भएको खेत पनि बेचियो, आफ्नै छिमेकीले पैसा खाइदिएपछि उठीबास लागेको छ ।’ गाउँमा रहेको एक रोपनी दुई आना खेत ६ लाख २५ हजारमा बेचेर थप पाँच लाख ऋण गरी पैसा बुझाउनु भएका आले पन्त बेपत्ता भएपछि समस्यामा पर्नु भएको छ । सुरु सुरुमा पैसा फिर्ता गर्छु भनेपनि पछि पछि धम्क्याउन थालेपछि आलेले पैसा फिर्ता दिलाइदिन माग गर्र्दै बैदैशिक रोजगार विभागमा गत वैशाख २५ गते नै उजुरी दिनुभएको छ । त्यहाँबाट कुनैपनि सुनुवाइ नभएको गुनासो उहाँले गर्नुभयो । फरार लक्ष्मण पन्तको विषयमा खोजी गर्दा लक्ष्मणका बुबा हरि प्रसाद पन्तले पनि गैरजिम्मेवार उत्तर दिइ उल्टै धम्याउने गरेको आले परिवारको आरोप छ । कुशल भन्नुहुन्छ, ‘छोरो कहाँ छ भनेर बाउले समेत उत्तर दिँदैनन, परिवारकै मिलेमतो हुनसक्छ ।’ आफू अन्यायमा परेपछि आलेले धादिङ स्थित सुरक्षित आप्रवासन परियोजनामा पनि पैसा फिर्ता गराइदिन माग गर्दै उजुरी दिनुभएको छ । वैदेशिक रोजगारीमा समस्या परेका कामदारहरुको लागि सहयोगी भुमिका खेलिरहेको परियोजनाले ठगी गर्ने लक्ष्मण पन्तको विरुद्धमा पिपुल फोरम मार्फत वैदेशिक रोजागार विभागबाट जाहेरी दर्ता गराएको छ । विभागले महानगरीय प्रहरी कार्यालय अपराध अनुसन्धान महाशाखालाइ कसुरदार पक्राउ गरी उपस्थित गराइदिने भनेर पुर्जी समेत जारी गरेपनि फरार पन्तको विषयमा कुनै जानकारी फेला परेको छैन । सुरक्षित आप्रवासनकी कार्यक्रम संयोजक गंगा सुवेदीले भन्नुभयो, ‘लक्ष्मणले कुशल आले मगरलाइ ठग्नकै लागि दक्षिण अफ्रिकाको कम्पनीको सवै कागजपत्रहरु नक्कली बनाएका रहेछन । कुशललाइ विश्वास दिलाउनको लागि उनको वैदेशिक रोजगार जीवन वीमा र स्वास्थ्य परीक्षण पनि गराएको रहेछ ।’
Advertisement
You May Like
0 comments
Write Down Your Responses