अर्काकी स्वास्नीको अटुट माया
Advertisement
You May Like
राजकुमार देवकोटा
चितवनमा गर्मी सकिएर बिस्तारै चिसोपनको महशुस हुँदै थियो । बिहान उठेर बाहिरको मौसम नियाल्दा मनमा एक किसिमको छुट्टै आनन्दको आउँथ्यो ।सधैँजस्तै बिहान उठेर यो मौसमलाई केहीबेर नियालि सकेपछि एक कप रातो चियाको चुस्कीसँगै फेसबुक हेर्न थालेँ । त्यहाँ विभिन्न नौला नौला समाचार नियाल्दै थिएँ । इनबक्समा मेसेज आयो । हत्तपत्त खोलेर हेरेको ‘हाइ गुडमर्निङ’ भनेर १ वर्ष अगाडि साउदी गएको मेरो साथी हर्कबहादुर घर्तीको रहेछ । नाम हर्के भए पनि फेसबुकमा उसको नाम ‘ह्यरी’ थियो । मैले पनि उसलाई उत्तर दिँदै सञ्चोविसञ्चो सोधेँ । निकै लामो कुराकानीपछि उसले मलाई सहयोग गर्ने भए एउटा अति नै महत्वपूर्ण कुरा गर्नु छ भन्यो ।
म केहीबेर सोचमा डुबेर आफ्नो बाल्यकालको मित्रले भनेको कुरा पनि कसरी नकार्ने भन्दै उसलाई सहयोग गर्ने वाचा गर्दै “ओके तैँले भनेको पनि मान्दिन होला त भन्न, सकेजति त म सहयोग गरिहाल्छु नि” भनेँ । त्यसपछि उसले आफूलाई एकजना केटीसँग प्रेम भएको र उसलाई भन्न नसकेको कुरा मेरासामु बिसायो । मैले सोधेँ को हो त्यो ? तँसँग कुरा हुँदैन र ? ।
प्रतिउत्तर दिँदै उसले भन्यो “हुन त राम्रो कुरा हुन्छ तर आँट नै आएन, एकचोटि तैँले कुरा गर्दिए मलाई सजिलो हुन्थ्यो ।” मैले भने– त्यसो भए भन्न त त्यो केटीको नाम । चिन्छु कि चिन्दिनँ फेरि । उसले भन्यो किन न चिन्नु राम्रोसँग चिन्छस् मुला…. त्यही शिखा त हो नि । म अचम्म मान्दै फेरि सोधे “को सिखा भन्छ मुला ?”
उसले भन्यो– “त्यही के पल्लो गाउँकी” । उसको कुराले म बडेमानको छाँगाबाट झरेजस्तो भएँ । किनभने शिखाको पोहोर मात्रै पल्लो गाउँको शक्तिसँग विवाह भएको थियो । मैले भने, “उसको त १ वर्ष अगाडि मात्रै विवाह भइसक्यो त ।” “थाहा छ नि त्यसैले त तलाइ कुरो गर्दे भनेको !”
यो कुराले ममा एक किसिमको क्रोधको भावना पैदा भयो । त्यसलाई भने “थुइक्क तलाई अर्काकी स्वास्नीमाथि त्यस्तो नजर राख्न अलिकति पनि लाज लागेन है, के तैले अरु केटी पाउँदैनस् र ?”
उसले जवाफ दियो– “पाउछु यार तर ऊभन्दा राम्रो चाहिँ पाउदिन होला, खै सामान्य कुरा मात्र हुन्छ हाम्रो । तर यतिकैमा पनि म उनीभित्र हराउन पुगेछु यार ।”
“सोच न यार ऊ एउटा विवाहित नारी हो, उसको बूढाले पनि माया गर्छ । उसलाई बूढा विदेश गएको छ उसको पनि । उसको बूढाका ठाउँमा त बसेर सोच न यार विवाह गरेर विदेश गएको बेला आफूले धर्मपत्नी मानेको नारीमाथि कसैले प्रेम प्रस्ताव राखेको थाहा पायो भने के हुन्छ उसको हालत ?
उसले क्रोधको भावना निकाले जस्तै उत्तर दियो । “जे भए पनि होस्, बरु त सहयोग गर्दिन भन न ।”
“सबै सक्छु तर यो कुरा चाहिँ सक्दिन ।”
केही नबोली ऊ अफ लाइन भयो । मैले सोचेँ मान्छेहरु किन अर्काको स्वास्नीमाथि गिद्धे नजर लागाउँछन, सायद यो समाज नै यस्तै छ । अर्काको हरेक गतिविधिमाथि तगारो हाल्ने काम गर्दैछ । त्यसैले सभ्य समाजको निर्माण हुन नसकेको होला । केही दिनपछि थाहा पाएँ हर्के आफैँले खुशीलाई प्रेमको प्रस्ताव राखे छ । यो कुरा खुशीले सहन नसकेपछि आफ्नो परिवारमा भनिछ । परिवारले हर्केको परिवारसँग गएर गुनासो राखेपछि हर्केको परिवारले हर्केलाई माफी नमागे घरभित्र समेत छिर्न नदिने यतिसम्मको धम्की दिएछन । घरबाट यस्तो दवाब आएकाले बिचरा हर्केे मनमा गाठो पार्दै खुशीलाई आई एम भेरि सरी खुशी भनेर मेसेज लेखेछ । यासपछि खुशीले हर्केलाई सदाका लागि आफ्नो एकाउन्टबाट ब्ल्क गरिछिन् ।
समय बित्दै गयो । केही समयपछि हर्के घर फक्र्यो । अझैसम्म पनि मलाई भन्थ्यो ।
“साला तैले सहयोग नगरेर त हो नि उसलाई नपाएको ।” लाग्थ्यो खुशीको मायामा हर्के एकोहोरो रुपमा धेरै नै पागल भएको रहेछ.. । खुशीलाई अटुट माया गर्ने भइसकेको रहेछ । जसोतसो सम्झाउँदै दिन बित्दै गए । केही समय पछि हर्केको पनि विवाह गर्ने कुरो आयो । हर्केले पनि सहमती जनाएपछि लम्जुङकी रिना भुजेलसँग हर्केको विवाह भयो । दिन बित्दै गयो । केही समयपछि २ महिनाको बिदा सकेर हर्के साउदी गयो । दुबै खुशी थिए दिन राम्रैसँग चलिरहेको थियो । १० दिन पछि एक्कासि एउटा साथीले फोन गरेर भन्यो– “हर्के त जाने बित्तिकै मान्छे मारेर जेलमा छ रे त ।” हतार हतार हर्केको घरमा गएर कुरो बुझेको त हर्के साउदी गएको ४ दिनपछि उसले बुढीको फेसबुक चेक गर्दा उसैसँगै काम गर्ने साथीले सामान्य जिस्क्याएको निहुँमा उसलाई छुरा प्रहार गरेर हत्या गरिदिएछ । यो घटनाले म अत्यन्तै भावुक भएँ । किनभने अरुकी स्वास्नीलाई अटुट माया गर्ने पल्टिएर खुशीलाई प्रेम प्रस्तावसम्म राख्ने हर्केले आफ्नो स्वास्नीलाई सामान्य जिस्काएकै निहुँमा साथीको हत्या गरेको थियो । आखिर उसले सोच्नुपर्ने होइन र ?
चितवन नेपाल
Advertisement
You May Like
0 comments
Write Down Your Responses