सुन्तलीले न्याय पाइन्, बलात्कारपछि हत्या गर्ने अभियुक्त ५ वर्षपछि अण्डमान टापुमा समातिए
Advertisement
You May Like


१२ असार, काठमाडौं । चौध वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरी एकपटक पक्राउ परी छुटेर फरार भएका अभियुक्तलाई प्रहरीले ५ वर्षपछि भारतको अण्डमान निकोबार टापुबाट पक्राउ गरेको छ ।
रामेछापको लिखु गाउँपालिका वडा नम्बर २ सैपु सिसन्धुकी सुन्तली तामाङको बलात्कारपछि हत्या गर्ने श्याम राउतलाई प्रहरीले निकै ठूलो प्रयासपछि पक्राउ गर्न सफल भएको हो ।
तत्कालीन सैपू गाविस वडा नम्बर १ को सिरिसे कवैटार भन्ने ठाउँबाट ०६८ माघ ५ गते हराएकी सन्तली तामाङको शव १५ दिनपछि लिखु खोलामा झोलाको फित्ताले घाटीमा बाँधेको अवस्थामा फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको थियो ।
छोरीको हत्याबाट विक्षिप्त बनेकी आमा डिल्लीमायाले जिल्ला प्रहरी कार्यालयमा छिमेकी पोकुका श्याम राउत र प्रदीप राउत विरुद्ध किटानी जाहेरी दिएकी थिइन् । तर, रामेछापका तत्कालीन प्रहरी प्रमुख सञ्जीव शर्माले अनुसन्धान नै नगरी राउतलाई हाजिरी जमानीमा रिहा गरेपछि यो प्रकरण चर्चामा आयो ।
यसबीचमा ५ वर्षसमम लगातार डिल्लीमायाले न्याय खोज्दा पनि पाउन सकेकी थिइनन् । अन्ततः रामेछापमा कुमोद ढुंगोल डीएसपी भएर गएपछि उनले यो केसको अनुसन्धान बढाएका थिए ।
तत्कालीन डीएसपीमाथि कारवाही होला ?
अरुणोदय माविमा कक्षा ७ मा अध्ययनरत सुन्तलीको हत्यापछि पक्राउ परेका राउतलाई विना कारवाही छाड्ने तत्कालीन डीएसपी सञ्जिव शर्मामाथि पनि थप छानविन हुने डीआइजी केसीले बताए । पत्रकार सम्मेलनमा सुन्तलीका आमा डिल्लीमायाले तत्कालीन डीएसपी शर्माले ‘केटी भेटे जसले पनि गर्छन्’ भन्ने गैरजिम्मेवार जवाफ दिएको आरोप समेत लगाइन् ।
उनले तत्कालीन डीएसपी शर्मामाथि कारवाही भएमात्र आफ्नो छोरीको आत्माले शान्ति पाउने भन्दै बलात्कारीमाथि कारवाही गर्नका लागि शर्माले खेत पास गरेर दिन दबाब दिएको आरोप समेत लगाइन् । उनको आरोप सुनेपछि डीइआजी केसीले डीएसपीमाथि छानविन हुने बताए ।
केसीले भने-उतिबेलै डीएसपी शर्मामाथि विभागीय कारवाही स्वरुप सरुवा गरिएको हो । अनुसन्धान फितलो गरेको देखिएकै हो, अब पीडितको आरोपबारे पनि छानविन हुन्छ । गल्ती देखिएमा कारवाही हुनेछ ।

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.