न्याय माग्न जाँदा प्रहरीले नै भकुरेपछि...
Advertisement
You May Like
धादिङ : जिल्ला प्रहरी कार्यालय धादिङअन्तर्गत जोगीमारा प्रहरीचौकीका इन्चार्ज राजु पौडेलले हिरासतमा रहेकाहरूलाई निर्मम यातना दिएको भन्दै बेनीघाट रोराङ गाउँपालिकाका स्थानीयले उनीविरुद्ध कारबाहीको माग गर्दै उजुरी गरेका छन्।
जोगीमारास्थित प्रहरीचौकीको हिरासतमै प्रहरीको कुटाइबाट पाँचजना सख्त घाइते भएपछि उनीहरूले जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरीविरुद्ध उजुरी गरेका हुन्।
पृथ्वी राजमार्गअन्तर्गत चरौंदीका होटेल व्यवसायीहरू कृष्ण गुरुङ, निर्मल नेपाल, सन्तोष यादव, अंकित तामाङ र सूर्य प्रजालाई मंगलबार राति ११ बजे प्रहरीचौकीमै प्रहरीले निर्मम तरिकाले कुटेकाले तत्काल कारबाहीको माग गर्दै जिल्ला प्रशाशन कार्यालय धादिङमा उजुरी परेको हो। उजुरीमा मझिमटारस्थित प्रहरीचौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक राजु पौडेलले मदिरा सेवन गरी रात्री ड्युटीमा रहेका बेला हिरासतमा रहेका होटेल व्यवसायीलाई हतकडी लगाई बा“सका भाटाले घोप्टो पारेर पिटेको उल्लेख छ। पीडितले उजुरीको साथमा नीलडाम भएका शरीरको तस्बिरसमेत प्रमाणको रूपमा पेस गरेका छन्।
पीडित कृष्ण गुरुङले भन्नुभयो, ‘हाम्रै होटेलमा खाना खाएर, हामीहरूकै ट्रकलाई ठक्कर दिएर भागेपछि पक्राउ गरेर न्याय माग्दा प्रहरीबाटै हामीमाथि यातना दिने काम गरियो। ट्रक चालकसँग मिलेमतो गरेर उनीहरूलाई भगाएर हामीलाई घोप्टो पारेर पिट्न सुरु गरियो, अश्लिल शब्दसमेत प्रयोग गरी गाली गलौज गरियो।’ न्याय माग्न प्रहरीचौकीमा जाँदा उल्टै अन्यायमा परेपछि प्रहरीविरुद्ध नै जिल्ला प्रशासन कार्यालयमा उजुरी गरिएको सूर्य प्रजाले जानकारी दिनुभयो।
प्रजाले भन्नुभयो, ‘हामीलाई यातना दिइएको कुरा सार्वजनिक भए ज्यान मार्ने धम्की दिएर रातभर हिरासतमा राखियो।’ उक्त घटनाका घाइतेले जिल्ला अस्पताल धादिङमा उपचार गराइरहेका छन्। जिल्ला अस्पताल धादिङले पनि पीडितको ढाडमा र फिलामा धेरै रगत जमेको, सुम्ला उठेको जानकारी दिएको छ।

मंगलबार राति नौ बजे बेनीघाट—७ चरौंदीस्थित गुडलक होटेलमा खाना अर्डर दिएर मदिरापान गरेका ट्रकका ५ जना चालक तथा सहचालकले आपसमा विवाद गरी २ हजार ४ सय रकम नतिरेर भागेपछि विवाद उत्पन्न भएको थियो। राजधानीबाट चितवनतर्फ जाँदै गरेका ना ५ ख ३७२२ र ना ६ ख १२१५ नम्बरका ट्रकका चालक र सहचालकले मदिरा सेवन गरी रकम नतिरी भागेका थिए। भाग्ने क्रममा रोकेर राखेको स्थानीयको ना ५ ख ६८०९ नम्बरको ट्रकमा समेत क्षति पुर्याएका थिए।
होटेलको रकम नतिरेर अर्को ट्रकलाई क्षति पुर्याएर भागेलगत्तै व्यवसायी पिछा गर्दै गएर चौकीटारमा ट्रक रोकेका थिए। त्यसपछि दुवै पक्ष प्रहरीचौकीमा छलफल गर्न गएका थिए। रातभर प्रहरी हिरासतमा बसेर बुधबार बिहान घर पुगेका सबैजना उठ्नै नसक्ने गरी थला परेपछि प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको थियो। जिल्ला प्रशासन कार्यालयले पनि घटना छानबिन गर्न पीडितको उजुरीसहित जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी दीपेन्द्र पञ्जियारले भन्नुभयो, ‘पीडितको निवेदनसहित आवश्यक छानबिन र कारबाहीका लागि बिहीबार जिल्ला प्रशासनको पत्र प्राप्त भएको छ, जोगीमारामा अर्को इन्चार्ज पठाई सई पौडेललाई जिल्लामा झिकाएका छौं, घटनाबारे आवश्यक छानबिन गरी दोषीलाई कारबाही गराउँछौं। सई पौडेल २ वर्षदेखि जोगीमारा प्रहरीचौकीका इन्चार्ज छन्।
Advertisement
You May Like
0 comments
Write Down Your Responses