चुनावको परिणाम आइरहँदा तराईका जनताका पक्षमा बोल्यो एमाले , पार्टीका नेता कार्यकर्तालाई उद्दार र राहतमा खटिन निर्देशन
Advertisement
You May Like
काठमाडौं, १८ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तराईका विभिन्न स्थानमा अविरल वर्षापछिको बाढीबाट प्रभावितलाई उद्दार र राहत दिन सरकारसँग माग गरेको छ ।
असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानीय निर्वाचनको मतपरिणाम आइरहेका बेला एमाले महासचिव ईश्वर पोखरेलले आइतबार एक विज्ञप्ति जारी गर्दै बाढी पीडितको उद्दार र सुरक्षित बसोबासको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘हाम्रो पार्टी सरकारसँग बाढीबाट पीडित नागरिकलाई तत्काल उद्दार गरी बसोबासको प्रबन्ध मिलाउन जोडदार माग गर्दछ । साथै, पीडितहरुका लागि आवश्यक राहतको उचित व्यवस्था गर्न पनि माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा प्राकृतिक प्रकोपका कारण तराईका जनतामाथि आइपरेको संकटमा साथ दिनका लागि उनीहरुको उद्दार र राहतमा सक्दो परिचालन हुन पार्टी मातहतका कमिटी तथा नेता–कार्यकर्तालाई निर्देशित समेत गरिएको उल्लेख छ ।
यस्तो एमालेद्धारा जारी विज्ञप्तिः
यही असार १६ गते शुक्रबार रातभरको अविरल वर्षाका कारण सप्तरी जिल्लाका विभिन्न स्थानमा भएको डुबान, कटान र त्यसबाट भएको मानवीय तथा भौतिक क्षतिबाट हाम्रो पार्टी दुःखी भएको छ ।
बाढीमा परी सशस्त्र प्रहरीका हवलल्दार सुमन आचार्यको निधन भएको छ भने करिब एक हजार पाँच सय घर डुवानमा परी स्थानीय बासिन्दा विस्थापित भएका छन् । महुली खोलामा आएको बाढीका कारण त्रिकौलका १ सय ५० र तिरहुत गाउँपालिका–५, भेडियाका ७० घर, दुधैला खोलामा आएको बाढीले रुपनी गाउँपालिका–६, वीरेन्द्रनगर बजारका ६ घर, तिलाठी कोइलाडी गाउँपालिकाका बेल्हीका ५० र सकरपुरका ५०, कञ्चनरुप नगरपालिका, राजविराज नगरपालिकालगायतका क्षेत्रका सयौँ घर डुबानमा परेका छन् । साथै, दुई सयभन्दा बढी घरलाई खोलाले बगाएको छ । कुखुरा पालन फार्म, स्वास्थ्य चौकी, प्रहरी कार्यालय, खानेपानी आयोजनालगायतका निर्माणाधीन अन्य संरचनाहरु पनि डुबानमा परेका छन् । खासगरी, तिलाठीमा पुरानो बाँध भत्किएको, नयाँ बाँध बनिनसकेको र बनेको बाँध पनि गुणस्तरीय नभएको जस्ता कारणले यति धेरै क्षति भएको छ । साथै, सप्तकोशी नगरपालिकाको बुचही गाउँमा त्रिजुगाको पानी थुनिएर क्षति पु¥याइरहेको छ । त्यसबाट स्थानीय बासिन्दालाई बचाउन बाँधको उचित व्यवस्था गर्नुपर्छ ।
बाढीमा परी ज्यान गुमाउनेप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । हाम्रो पार्टी सरकारसँग बाढीबाट पीडित नागरिकलाई तत्काल उद्दार गरी बसोबासको प्रबन्ध मिलाउन जोडदार माग गर्दछ । साथै, पीडितहरुका लागि आवश्यक राहतको उचित व्यवस्था गर्न पनि माग गर्दछ ।
हरेक वर्ष जस्तो बाढीका कारण हुने डुबान र कटानको समस्या समधानका लागि दीर्घकालीन सोचका साथ त्यस क्षेत्रमा विशेष ध्यान पु¥याउन नितान्त आवश्यक छ । वस्ती तथा खेतीयोग्य जमिनलाई क्षति पुर्याउने सम्भावित खोलाहरुमा उचित तटबन्ध गरेर सुरक्षित नबनउँदासम्म हामीले हरेक वर्ष यस्ता दुःखद घटनाहरु बेहोरिरहनुपर्ने हुन्छ । अतः हामी तराई–मधेसका यस्ता वस्तीहरुको पहिचान गरी दीर्घकालीन योजनाका साथ काम गर्न सरकारसँग विशेष माग गर्दछौँ ।
प्राकृतिक प्रकोपका कारण सप्तरीका जनतामाथि आइपरेको यस संकटमा साथ दिनका लागि उनीहरुको उद्दार र राहतमा सक्दो परिचालन हुन हाम्रो पार्टी मातहतका कमिटी तथा नेता–कार्यकर्तालाई निर्देशित गर्दछ ।
ईश्वर पोखरेल
महासचिव
महासचिव
Advertisement
You May Like
0 comments
Write Down Your Responses