निरक्षर उपाध्यक्षको धोको- ‘समाज बदल्न्या हो’
Advertisement
You May Like
विवाहमा लगाएको बुलाकी पहिलोपल्ट फुकालिन् र कालो ब्लाउज, रातो गुन्यु, सेतै पटुकीमा सजिएर जीवनमै पहिलोपल्ट सुर्खेत झरिन् । अलमलिएला भनेर पति नन्दकृष्ण न्यौपानेसहित सुर्खेत पुगेकी ४२ वर्षीया दाना न्यौपाने पलाता गाउँपालिकाकी उपाध्यक्ष हुन् । अनपढ न्यौपानेलाई माओवादी केन्द्रले उम्मेदवार बनायो, मतदाताले अत्यधिक भोटले जिताए ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राखेको ६ नं प्रदेशस्तरीय अभिमुखीकरणमा सहभागी हुन उनी सुर्खेत झरेकी थिइन् । त्यहाँ उनलाई हरेक चिज नौला लागे । होटलका कोठा, कोठाभित्रैका (एट्याच) शौचालय, टेलिभिजन सबै देख्दा नयाँ संसारमा आएझैं लागेको उनले सुनाइन् । कालिकोटको नानीकोट–१ तोलिभिडमा जन्मिएकी दानाको १३ वर्षमै धौलागोह–६ (हाल पलाता २) खाडामा मागी विवाह भएको थियो । दस भाइबहिनीमध्ये जेठी उनका तीन भाइलाई बुबाआमाले एसएलसीसम्म पढाए । तर, ७ दिदीबहिनी कसैलाई विद्यालय पठाएनन् । दाना घरधन्दा र चुलोचौकामै रमाइन् । माओवादी द्वन्द्वमा सहभागी भए पनि खाना खुवाउने, बासको व्यवस्था मिलाउने, पार्टीले आयोजना गरेका घरनजिकैका कार्यक्रममा सहभागी हुन जाने गरे पनि टाढा भने कतै नगएको उनी बताउँछिन् ।
सदरमुकाम मान्मबाट सबैभन्दा टाढा पर्ने पलाता गाउँपालिकामा खाद्य संकट पनि चर्को छ । ८० प्रतिशत महिला र ६० प्रतिशत पुरुष अझै निरक्षर छन् । गाउँमा जुवातास र मदिरा खाने चलनले दिनहुँ महिला हिंसाका घटना हुन्छन् । प्रसूति हुन स्वास्थ्य चौकी जाने चलन छैन । पछिल्लो समय छोरी पढाउनुपर्छ भन्ने चेतना भए पनि घरघरमै छाउ बार्ने चलन छ । सरसफाइको अवस्था पनि नाजुक छ । छोराका लागि धेरै बच्चा जन्माउने चलन कायमै छ । बालविवाह पनि भयावह छ ।
यही समाज बदल्न आफू उपाध्यक्ष भएको नवसाक्षर न्यौपानेको दाबी छ ।
धौलागोह र खिन गाविसमा १८ वटा सबल सेन्टरले गाउँका निरक्षर महिलालाई साक्षर बनाउने, महिला हिंसाविरुद्ध अभियान चलाउने, बालविवाह, बहुविवाह, छाउपडी प्रथा हटाउन सहयोग गरिरहेको सुनाउँदै आफूले पनि धौलागोहको सबल सेन्टरमा पढेर सही गर्न सक्ने भएको उनले सुनाइन् । ‘एक वर्षअघिसम्म त ल्याप्चे च्याप्थें,’ तीन छोराकी आमा न्यौपानेले भनिन्, ‘अचेल त कलमले दाना लेखेर सही गर्छु ।’ उनले गाउँमा सञ्चालित सबल सेन्टरमा नाम लेख्न जान्ने भएकाले टिकट पाएर चुनाव लडेको बताइन् ।
गाउँपालिका अध्यक्ष लक्ष्मण बमसहित सुर्खेतबाट गाउँ फर्केपछि गर्नुपर्ने विकास प्राथमिकताबारे बुझदै ठिक्क छ उनलाई । दिनहुँजसो विभिन्न निकायले गर्ने बधाई तथा सम्मान कार्यक्रममा सम्मान थाप्दै र बधाई खाँदै भ्याइनभ्याई छ । विकट ठाउँकी जनप्रतिनिधिको स्थानीय एफएमले पनि अन्तर्वार्ता लिन पालो कुर्ने गरेको रेडियो नयाँ कर्णालीका स्टेसन म्यानेजर भरतराज विष्टले सुनाए । गाउँमा करेसाबारी, सबै महिला साक्षर बनाउने योजना छ उनको । ‘धेरै कुरा त थाहा छैन,’ न्यौपानेले भनिन्, ‘विकास गर्ली भनेर जनताले चुनाव जिताए ।’ उनी एसएलसी पास गरेकी कांग्रेसकी सुर्जकला रोकाय र एमालेकी बबिता उपाध्यायलाई हराउँदै उपाध्यक्ष विजयी भएकी हुन् ।
शिक्षा, स्वास्थ्य, सडक, विद्युत्, खानेपानीलगायत भौतिक पूर्वाधारमा पछि रहेको पलाता क्षेत्र बर्सेनि खडेरीको मारमा छ । ‘गाउँमा छ भन्नु केही छैन,’ न्यौपानेले भनिन्, ‘मेरो गाउँपालिकामा त अभावै अभाव छ ।’ साविकका खिन, धौलागोह र थिर्पुको प्रतिनिधित्व गर्दै उपाध्यक्ष बनेकी न्यौपानेले स्थानीय लवजमा समस्या देखाइन्, ‘पिउँ भन्या पानी छैन, खाउँ भन्या अन्न छैन । ओख्तोमूलो गन्या अस्पताल छैन, पढ्न्या गतिलो स्कुल छैन ।’ कुरीति अन्त्य गर्दै खानेपानी, बाटो, बिजुलीलगायत योजनालाई प्राथमिकता दिने उनले सुनाइन् । केही समयअघिसम्म आफूले पनि महिनावारी बार्ने गरेको भए पनि अचेल घरमै बस्न सुरु गरिसकेको सुनाउँदै ३ वटै छोरा घरमै जन्माएको बताइन् ।
गाउँमा जाने बजेटको सदुपयोग नभएकाले गाउँको विकास हुन नसकेको उनको बुझाइ छ । ‘टाठाबाठा जो छन्, उनैले कुम्ल्याउँछन्,’ न्यौपानेले पछाडि परेका वर्गका लागि काम गर्ने वाचा गर्दै सुनाइन् । महिला हिंसा उत्प्रेरित गर्ने जाँडरक्सी अन्त्यका लागि पहल गर्ने योजना पनि उनले बनाइसकेकी छन् ।
पत्नी गाउँपालिका उपाध्यक्ष भएकोमा नन्दकृष्ण पनि खुसी छन् । ‘जनताले काम गर्न जिताए, खुसी छु,’ भारतमा ज्यालामजदुरी गरेर जीविका चलाउने न्यौपानेले भने, ‘घरको काम छोराबुहारीलाई गर्न लगाउँछु ।’
Advertisement
You May Like
0 comments
Write Down Your Responses